नालायक मन्त्री फेर्न चाहन्थे ओली, प्रचण्डले दिएनन
मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई गति दिने प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा सजिलै पूरा नहुने देखिएको छ। आफूलाई संसदयी दलको नेताबाट विस्थापित गरी मन्त्रीबाट हटाउने प्रचण्डको गुप्त योजना असफल पारे पनि मन्त्रिमण्डल पुर्नगठनमा भने केपीलाई सहजता पैदा भएको छैन।
गत असारमा नेकपाको संसदीय दलमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अन्तिम तयारीमा रहेका प्रचण्डको योजनाबारे सुइँको पाएपछि केपी उक्त योजनालाई रातारात भताभुइंग पारिदिएका थिए। पार्टी एकीकरण प्रक्रियालाई पूर्णता दिने नामा प्रचण्डले भागबण्डाको प्रस्ताव राखेपछि 'एमाले' र 'माओवादी'ले कुन-कुन विभाग लिने भन्ने तय गर्न केपी ओली सहमत भएका थिए
दुई शीर्ष नेताबीच बनेको यो सहमतिले प्रधानमन्त्रीलाई राजनीतिक रूपमा लाभ पुगेको छ। एकीकृत पार्टीभित्र दुई पार्टी अभ्यास शुरु भएपछि एमाले कित्ता एकताबद्ध बन्न पुगेको छ भने माओवादीपट्टीका भनिने कतिपय नेताहरूचाहिँ पार्टी एकताको रक्षाका निम्ति तटस्थ भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगे। खासगरी प्रवक्तासमेत रहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा तटस्थ भूमिकामा देखापरे।
नौ सदस्यीय सचिवालयमा केपी ओली प्रचण्ड र माधवकुमार नेपाल समर्थक तीनतीन जना नेताहरू रहेको विश्वास गरिन्थ्यो। श्रेष्ठ र थापाले तटस्थ बस्ने निर्णय लिइदिएपछि प्रचण्ड अचानक एक्लिन पुगेका थिए र यससँगै केपी ओलीलाई ढाल्ने उनको सपना चकनाचुर भएको थियो।
यद्यपि गृहमन्त्री थापाको भूमिका भने अझै पनि दोहोरो भएको बुझिन्छ। थापा प्रचण्डले केपीविरुद्ध आयोजना गर्ने गुप्त बैठकहरू समेत सहभागी हुने गरेका छन्। तर, केपीविरुद्ध आवश्यक वातावरण बनाउन र आफूलाई प्रधानमन्त्री बनाउने लक्ष्यका निम्ति गृहकार्य गर्ने जिम्मावरी भने प्रचण्डले जनार्दन शर्मा प्रभाकर र देव गुरुङलाई दिएका छन्। तथापि केपीविरुद्ध रचिएका कतिपय बैठकहरूमा रामबहादुरले पनि सहभागिता जनाउँदै आएको बताइन्छ। प्रचण्ड दुबईबाट फर्किएपछि उनले शुरु गर्ने खेलमा रामबहादुरको सहभागिता हुने या नहुने यकिन साथ भन्न सकिने अवस्था छैन। उत्ता केपी ओली भने आफूलाई रामबहादुर धोखा नहेनमा ढुक्क रहेका छन्।
मन्त्रिमण्डलबाट सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई हटाउने प्रयासमा प्रचण्ड निकै अघिदेखि नै रहँदै आएका छन्। त्यस्तै, रामबहादुर थापा शक्ति बस्नेतलाई पनि सरकारबाट हटाउनुपर्ने संकेत प्रचण्डले ओलीलाई दिएको बुझिन्छ। तर, प्रधानमन्त्री ओली गोकुल बाँस्कोटा, रामबहादुर थापा र शक्ति बस्नेतलाई मन्त्रिमण्डलमा यथावत राख्ने पक्षमा रहेका छन्।
प्रधानमन्त्री ओली कृषिमन्त्री चक्रपाणि खनाल खानेपानीमन्त्री बिना मगर र उद्योगमन्त्री मातृका यादवलाई बिदा दिने पक्षमा भएको बताइन्छ। तर, प्रचण्ड उल्लेखित कसैलाई पनि मन्त्रिमण्डलबाट हटाउने पक्षमा नभएको बुझिन्छ। मन्त्रिमण्डल पुनर्गठनमा सहयोगी नबन्दा त्यसबाट उत्पन्न हुने परिस्थिति केपीको प्रतिकूल हुने ठम्याइ प्रचण्डको छ। यो खबर आजको घटना र विचार साप्ताहिकबाट लिइएको हो।
केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’