राजनीति

दोषीलाई कारबाही नगरे आन्दोलन थाल्ने कांग्रेसको चेतावनी

दोषीलाई कारबाही नगरे आन्दोलन थाल्ने कांग्रेसको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै सरकारले दोषीलाई कारबाही नगरे देशभर आन्दोलन थाल्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोधमा शनिबार बिहान गृहमन्त्रीलाई जिल्ला सभापतिहरुले ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

साथै शनिबार अपराह्न माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताए । पार्टीको जागरण अभियानमा भाषण चलिरहँदा आक्रमण भएको र प्रहरीसमेत मुकदर्शक बनेको भन्दै यसको विरोधमा कांग्रेसले सांकेतिकरुपमा विरोध थालेको उनले बताए ।

जिल्ला सभापति एवं ७० वर्षीया नेत्री कोइरालामाथि भएको आक्रमणले सत्तारुढ दल नेकपाका व्यक्तिहरुको मानसिकता उजागर गरेको उनको टिप्पणी छ । 

पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका सभापतिहरु सबुज बानियाँ, दुर्लभ थापा र मदन अमात्यले नेकपा कार्यकर्ताले आफ्नो व्यवहार नसुधारे प्रतिकार गर्ने चेतावनी दिए ।

त्यस्तै, कांग्रेसले जागरण अभियानकाक्रममा डेंगी रोगप्रतिको सर्तकता र सावधानीको विषयमासमेत अभियान चलाउन आफ्ना नेता–कार्यकर्तालाई  निर्देशन दिएको छ ।

विशेष