प्रभु साह लगायतका ४ जना प्रदेश पदाधिकारीलाई पदमुक्त गर्न माग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १६ जना केन्द्रीय सदस्यले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। पत्रमा उनीहरुले पार्टी सदस्य नै नरहेको व्यक्तिलाई जिल्ला कमिटीमा हुल्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्।
'मात्रात्मक रुपमा कुनै जिल्लामा कम वा बढी हुनसक्छ तर प्रदेश २ का प्राय सबै जिल्लाहरुमा अयोग्य र निकटतमका अगाडि योग्य कमरेडहरुलाई पाखा लगाइएको अवस्था रहेको छ', ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापनपत्रमा प्रदेश २ का अध्यक्ष प्रभु साहले आफ्नो योजनावद्ध षडयन्त्र पूरा नहुने देखेर सो पदबाट राजीनामा दिएको आरोप लगाइएको छ। केही दिनअघिको विवादित जिल्ला कमिटीको सपथप्रति पनि असन्तुष्टि जनाइएको छ।
'पार्टीको अन्तरिम विधान, नियमावली, अपानि (अन्तर पार्टी निर्देशन) र विशेष परिपत्रहरुको उल्लंघनका साथै पार्टीका अध्यक्ष र महासचिवको निर्देशन विपरीत शपथग्रहण राखेर असहज स्थिति सिर्जना गर्ने प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सह इन्चार्जविश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई अविलम्ब पदमुक्त गरी आवश्यक थप कडा कारबाही गरियोस्', ज्ञापनपत्रमा भनिएको छ।
त्यस्तै, पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत रघुवीर महासेठको पार्टी स्थायी कमिटीमा भएको मनोनयन रद्द गर्न समेत आग्रह गरिएको छ।