मन्त्री ज्वालाको राजीनामा माग्दै प्रदेशसभा अवरुद्ध
सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरिको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा राजीनामा माग गरेको हो। कांग्रेसले मन्त्री ज्वालाको राजीनामा माग गर्दै प्रदेशसभासमेत अवरोध सिर्जना गरेको थियो।
अर्थमन्त्रीले झुटो विवरण पेश गरेको, संसदबाट सर्वसम्मत पारित गरिएको विनियोजन विधेयकलाई तोडमोड गरि ल्याएकोलगायतको आरोप लगाउँदै कांग्रेसले राजीनामा भाग गर्दै संसद अवरुद्ध गरेको हो।
कांग्रेस नेता जीवनबहादुर शाहीले मन्त्री ज्वालाले संसदलाई गुम्राहमा राखेको आरोप लगाए। उनले भने, ‘मन्त्रीले जनाउनु भएको प्रतिवद्धता बजेटको अंगहुने गरि पारित गरियो भन्ने प्रस्तावसहित कर्णाली विनियोजन विधेयक २०७६ र यससँग आश्रित कर्णाली प्रदेश आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित भई घोषणा भयो । प्रमाणित र प्रमाणिकरण हुँदा अंग भएन ।’ विशेष समयमा सभाको २२औँ बैठकबाट विनियोजन बजेट सर्वसम्मत पारित भए पनि किन परिवर्तन भयो भन्दै शाहीले प्रश्न गरे।
मन्त्री ज्वालको राजीनामा नआएसम्म सदन अघि बढ्न नदिने कांग्रेसले बताएको छ। सदनलाई उल्टो बाटोमा हिँडाएको र प्रतिबद्धता गरेअनुसार विधेयक नआएपछि कांग्रेसले विरोध जनाएको थियो।