'भ्रष्टाचारीहरु धमाधम पक्राउ पर्दै'
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्राथमिकतासाथ काम गरिरकेको बताए । सिंहदरबारको संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले भने्,‘भ्रष्टाचार नियन्त्रण गर्न सरकार लागिरहेको छ, भ्रष्टाचारीहरु धमाधम पक्राउ परिराखेका छन्।’
‘डेढ बर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिए। उनले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए।
प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गरे। ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन पनि दिए।
सरकारले सानातिना घूस लिने व्यक्तिलाई पक्राउ गर्ने र ठूला भ्रष्टाचारलाई कारबाही गर्न नसकेको आलोचना भइरहेको छ । सत्तारुढ नेकपाका कतिपय नेताले समेत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गरे ।
‘सरकार जुन रफ्तारमा हिँड्नु पर्ने हो, जसरी काम गर्नुपर्ने, हुनुपर्ने हो, त्यसो नहुँदा आलोचना स्वाभाविक हो’ उनले भने, ‘तर केही समयमै सरकारले गरेका उपलब्धि देखिन्छ ।’
अब विभिन्न विकास निर्माणका काममा ढिलाइ गरिएझैं संसद् भवन बनाउन ढिलाइ गर्ने र अनेक बाहानामा पैसा थप्न लगाउने अवस्था आफूलाई मान्य नहुने प्रधानमन्त्रीको भनाइ थियो।