लोकतन्त्र र गणतन्त्र समाप्त गर्न लागेको देउवाको आरोप
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । काठमाडौँको वागबजारस्थित पद्यकन्या क्याम्पसको ६९ औँ बार्षिकोत्सवमा देउवाले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक हुनु पर्नेमा जोड दिए ।
लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्ने बताए । उनले सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको आरोपसमेत लगाए । मानव अधिकारको संरक्षण र प्रेस स्वतन्त्रताको लागि कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
क्याम्पस प्रमुख धनप्रसाद पण्डितले शिक्षाको क्षेत्रमा पद्यकन्या क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मानित गरिएको थियो ।