सभामुख महरा काजकस्तान प्रस्थान, युरोसियन मुलुकको बैठकमा सम्बोधन गर्ने
काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन् । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तानतर्फ प्रस्थान गरेका हुन् ।
यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरूको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ।
प्रतिनिधि मण्डलमा प्रतिनिधिसभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन ।
कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन। उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।