राजपा नेपालको अध्यक्ष मण्डलको नेतृत्व फेरियो, को भए संयोजक?
जनकपुर– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजक फेरि फेरिएका छन्। पूर्व शर्तअनुसार तीन÷तीन महिनामा संयोजक फेरिने हुँदा अब पुनः संयोजक महन्थ ठाकुर भएका छन् ।
चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक बनेका राजकिशोर यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर पाएका हुन् ।
तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वभावना पार्टी, मधेसी जनधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टीको संयुक्त मोर्चाले पार्टीकरण भएपछि नवगठित राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई चयन गरेको थियो ।
गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो । करिब साढे ३ वर्षअघि ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको सो पार्टीले प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा समेत भाग लिएको थियो । प्रदेश नम्बर २ मा सो पार्टीले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा १६ वटा स्थानमा प्रत्यक्ष निर्वाचन जितेको थियो ।