द्वन्द्वात्मक भौतिकवाद बुझने र प्रयोग गर्ने एकमात्र नेता ‘प्रचण्ड’ (भिडियोसहित)
नेपालका कम्युनिष्टहरु नामका मात्र कम्युनिष्ट भए काम चाहिं कमाउनिष्ट भयो भन्ने आरोप सर्वत्र छ । स्वयं नेकपाकै अधिकांश नेता कार्यकर्ताहरु कम्युनिष्ट नेताहरुको आचरण, जीवनशैली र विचारबाट सन्तुष्ट हुन सकेका छैनन् । सर्वहारा वर्गको हकहीतका लागि भन्दै राजनीति गर्ने कम्युनिष्ट नेताहरु सुखभोग र सुखसयलमा लागेको उनीहरुको आरोप छ ।
हुनपनि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मात्र होइन वडास्तरदेखि केन्द्रसम्मका अधिकांश नेताहरुको जीवनशैली निकै विलासी छ । नेकपाका विभिन्न फोरमहरुमा यस सम्बन्धी बहस हुने भएपनि व्यवहार कसैले सुधारेका छैनन् ।
नेकपाका पुराना नेता एवम राष्ट्रियसभा सदस्य कालीबहादुर मल्ल पनि नेपालको कम्युनिष्ट आन्दोलनमा विचलन आएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘नेपालका कम्युनिष्टको लक्ष्य समाजवाद, चिन्तन सामन्तवाद र शैली अराजकता भयो । यसले पतनको बाटोतर्फ लैजान्छ । सच्याउन जरुरी छ । ’
नेता मल्लका अनुसार नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पकमल दाहाल प्रचण्ड नै सबैको आशाको केन्द्र छन् । उनी भन्छन्, ‘प्रचण्ड मात्र एउटा यस्ता नेता हुन जसले द्वन्द्वात्मक भौतिकवादलाई राम्रोसंग बुझेर प्रयोग गरिरहेका छन् । ’
अहिले विद्रोह गरिरहेका नेत्रविक्रम चन्द हुन वा मोहन बैद्य उनीहरुको शैलीले मुलुकमा परिवर्तन सम्भव छैन । विप्लवले लिएको बाटो गलत छ । यसले कसैलाई फाइदा गर्दैन । उनी राष्ट्रिय राजनीतिको मूलधारमा आउनुको विकल्प छैन ।
मोहन बैद्य इमान्दार र अनुशासित नेता हुन् । उनले दर्शनको राम्रो व्याख्या गर्छन्, तर दर्शनको निर्माण गर्न सक्दैनन् । उनको हिसाबले चलेर मुलुक परिवर्तन सम्भव छैन ।
नेता बाबुराम भट्टराई त ‘पोइल’ जान पल्केका छन् । कुनै समय पोइल जाने शब्द प्रयोग गरी लेख लेख्ने बाबुराम आफै पटक–पटक पोइल गैरहेका छन् । नेकपाबाट नयाँ शक्ति गए, नयाँ शक्तिबाट समाजवादी पार्टीमा पोइल गए । बाबुराम दाल तरकारी पस्किने डाडू हुन् । डाडू अरु कसैले चलाउँछ । डाडू आफैंले पनि स्वाद लिन पाउँदैन ।
यो अवस्थामा प्रचण्ड कम्युनिष्ट आन्दोलनको एकमात्र विकल्प हुन । एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाले नै मुलुकलाई विकास र समृद्धिमा पुर्याउँछ । यसका लागि अध्यक्षद्वय ओली र प्रचण्डले मिलेर आपसी समझदारीमा काम गरिरहेका छन् । पार्टी र सरकारका सबै निर्णयमा दुवै अध्यक्षको राम्रो तालमेल मिलेको छ । बाहिर हल्ला भए जस्तो उनीहरुमा कुनै विवाद र अन्योल छैन ।
सांसद् मल्ल भन्छन्, ‘यो सरकार एउटा गाडी जस्तै हो । दुई तिहाइको सरकारले स्टेयरिङ चलाइरहेको छ । पछाडिका दुईवटा चक्का भनेको कर्मचारी तन्त्र हो । कर्मचारी समायोजन प्रक्रिया सकेपछि जाम भएका यी दुई चक्का घुम्न थालेका छन् । अब गति लिंदैछ । स्टेयरिङ सही दिशामा मोडिएको छ, पछाडिका चक्का पनि घुम्न थालिसके । अब समस्या छैन । ’