'अख्तियार र अदालतमाथि दुई तिहाईको दम्भ, कर्मचारीलाई काम गर्न गाह्रो'
प्यूठान - नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायीक क्षेत्र अदालतमाथि सरकारले दुई तिहाईको दम्भ देखाउँदा कर्मचारीलाई काम गर्न समस्या भएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको छायाँमा न्यायपालिका र संवैधानिक निकायहरु रहँदा कर्मचारीलाई काम गर्न गाह्रो भएको आरोप लगाए।
दोस्रो जागरण अभियान अन्तरगत प्यूठानमा सोमबार अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने,‘ कर्मचारीहरु आफ्नो जागिर बचाउन पनि सरकारको दुई तिहाई बाट डराइ रहेका छन्।’
उनले अख्तियार, अदालतलगायत सबै संवैधानिक निकायलाई सरकारले दुईतिहाई देखाएर तर्साएकाले मुलुकका ठूला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको दाबी गरे।
वरिष्ठ नेता पौडेलले ठूला–ठूला आयोजनालाई कमिसनको चक्करमा अलपत्र पारिएको समेत आरोप लगाए । उनले विना प्रतिस्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाटै आर्थिक अनियमितता भएको पुष्टि हुने बताए ।
‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । यो संविधान विपरित हो । अख्तियार र अदालतलाई तर्साउन खोजिँदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउन प्रयोग गरिएको छ,’ पौडेलको भनाई छ ।