माधवकुमार नेपाल र मन्त्री यादवसहित दर्जन बढीलाई कारवाहीकाे सिफारिस
काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवमाथि कारवाहीका लागि सिफारिस गरिएको छ । उनीहरुलाई प्रदेश २ को कमिटीले कारवाही गर्न सिफारिस गरेको हो।
दुवैमाथि थप छानविन गरेर कारवाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ । कमिटीले बर्दिबास घटनामा पार्टीका नेताद्धय नेपाल र यादवको संलग्नता रहेको ठहर गर्दै प्रतिवेदन बुझाएको हो।
त्यस्तै, सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी मुक्त गर्न र केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, जगत यादवमाथि कारवाही गर्न माग गरिएको छ । रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरुलाई नसियत दिन सिफारिस गरिएको छ ।
२४ भदौमा सिरहा र सप्तरीको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा हुलदंगा गर्दै तोडफोड गरिएको थियो । यो लगायतका घटनाबारे प्रदेश कमिटीका इञ्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका छन् ।