राजेन्द्र महतोले एकताको लागि समाजवादी पार्टीलाई राखे यस्तो शर्त
जनकपुर - पछिल्लो समय सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पार्टी एकताको हल्ला धेरै चले पनि यसले सार्थकता पाउन सकेको छैन।
पार्टी एकताकै लागि यी दुई पार्टीबीट दर्जानौ पटक पार्टीले निर्णय गरेका औपचारिक पत्र आदान प्रदान भइसकेको छ। तर पनि पार्टी एकताले मूर्त रुप लिन सकेको छैन। सोही क्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टी नेपालले सरकार छाडेपछि समानताको आधारमा मात्रै पार्टी एकता सम्भव हुने बताएका छन्।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताए। ‘जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता भए सबैको लागि राम्रो हुनेछ।’उनले भने, ‘पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो।’
नेता महतोले जनताको भावनालाई सम्मान गर्न मधेसवादी ६ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकतापछि सम्भव छ।’