राजनीति

प्रधानमन्त्री ओली तन्दुरुस्त, भदौ २० गते स्वदेश फर्किदै 

प्रधानमन्त्री ओली तन्दुरुस्त, भदौ २० गते स्वदेश फर्किदै 

स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ २० गते शुक्रवार स्वदेश फर्किदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई टेलिफोन गरी आफू स्वस्थ रहेको र शुक्रवार स्वदेश फर्किन लागेको जानकारी दिनुभएको हो । 

नेता नेम्वाङका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पूर्णरूपमा ठीक रहेको छ । उहाँको प्लाज्मा फेरिसिसलगायत उपचारका प्रक्रिया पूरा भएको, केही जाँच अन्तिम चरणमा रहेको र रिपोर्ट पनि बिहीबारसम्म आइसक्ने हुनाले प्रधानमन्त्री शुक्रबार (२० भदौ)मा फर्कन लाग्नु भएको छ । 

प्रधानमन्त्रीको बोली टाठिलो र आवाज सुन्दै तन्दुरुस्त रहेको नेम्वाङले बताउनुभयो । प्रधानमन्त्रीले नेम्वाङसँग सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक र संसदमा विचाराधीन अन्य विधेयकबारे पनि चासो राख्नुभएको थियो । 

जवाफमा नेम्वाङले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकका बारे प्रतिपक्षीसँग संवाद चलिरहेको बताउनु भएको थियो । मिडिया काउन्सिल विधेयकका बारे पनि प्रधानमन्त्रीको चासो राखेको नेम्वाङले बताउनुभयो । 
 

विशेष