दशैँले छोयो नेपालीलाई (भिडियोसहित)
हरि न्याैपाने
काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ दैलोमैँ टेक्न लाग्दा आम मानिसहरुलाई भने भ्याइनभ्याइ बनाएको छ । ४० लाख बढी मानिस रहेको काठमाडौँमा दशैँका बेला २५ लाखले संघीय राजधानी छाडेर थातथलो फर्कन्छन् । संघीय राजधानी काठमाडौँको सुन्धारा–न्युरोड क्षेत्रमा दशैँले मानिसहरुलाई के कसरी छोएको रहेछ भनेर हामीले बडादशैँको पहिलो दिन अवलोकन गरेका थियौँ ।
त्यस क्षेत्र आसपास मानिसहरु धमाधम किनमेलमा व्यस्त थिए । कतिलाई सामान किन्नै भ्याइनभ्याइ भएको थियो भने कतिपय यो किनौँ कि त्यो किन्न भन्नमा व्यस्त थिए । यो प्रक्रिया फूलपातीसम्म रहनेछ किनकी शैक्षिकसंस्थाहरु बिदा भए पनि सरकारी कार्यालयहरु फूलपातीदेखि मात्रै बिदा हुनेछन् । तथापि बालबच्चाको बिदा भैसकेकाले मानिसहरु किनमेलमा व्यस्त छन् ।
न्युरोडमा कतै सेल मेला लागेको छ भने कतै दशैँ अफरमा भारी छुट । ग्राहकलाई सामान बेच्न पसलेलाई भ्याइनभ्याइ छ भने ग्राहक तान्न अनेकन उपाय लगाइएको छ । सपिङ मलमा भन्दा सडकका पसलमा ग्राहकको घुईँचो लागेको छ ।
सवारी साधनका धनीलाई पार्किङको पिरलो देखिन्छ भने ट्राफिकलाई सवारी चाप व्यवस्थापनको चटारो । न्युरोड गेटमा उभिएको मानिसले आफू जाने दिशा चिन्नुपर्छ भीडले नै गन्तव्यमा ठेलेर लगिदिन्छ । तर विस्तारै फूलपाती, अष्टमी आउँदा भने न्युरोड शुन्य हुँदै जान्छ । पसलहरु बन्द हुनेछन् । हामीले दशैँमा न्युरोडको अवस्था कस्तो देखिएको छ भनेर भिडियोमा उतारेका छौँ ।