रोजगार

लोकसेवा परीक्षा प्रक्रिया सुरु : १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

लोकसेवा परीक्षा प्रक्रिया सुरु : १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

काठमाडौं : संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो । 

मन्त्रालयको बिहीवारको सो निर्णयसँगै लोकसेवाले केन्द्रीय सरकारमा कर्मचारी भर्नाको प्रक्रिया थाल्नेछ । लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ । मन्त्रालयले आयोगलाई पठाउने निर्णय गरेको माग आकृति फारममा प्रशासन सेवाका ७० भन्दा बढी सहसचिवको माग गरिएको छ भने उपसचिवमा पनि प्रशासन सेवाकै बढी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जानकारी दिएको छ । 

मन्त्रालयको यस निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा पनि कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा नीतिगत निर्णयदेखि सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

लोकसेवा आयोग

विशेष