संसद बैठक स्थगित गरिएकोमा कांग्रेसको आपत्ति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलको खिचातानीका कारण पटक पटक संसद बैठक स्थगित गरिएको प्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ –‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको विषय दुःखद छ । नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’
‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महिना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छाँया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।