राजनीति

दाहाल भन्दा पहिले ओलीले ‘अग्नि सापकोटा’को नाम लिएपछि.......

दाहाल भन्दा पहिले ओलीले ‘अग्नि सापकोटा’को नाम लिएपछि.......

बजारमा अनुमान छ– सभामुखमा प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेको । तर, वास्तविकता फरक रहेछ, आइतबार अपराह्न बसेको नेकपा सचिवालय बैठकमा उहाँले अग्निको ‘अ’ पनि भन्न पाउनु भएन । 

प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भन्नुभयो– ‘तपाईंहरु सबै एक भएर आउनु भयो । अब म के भनौं ?’ यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेको भए प्रचण्ड आफैं पनि ‘भैगो त सुबाषजीलाई नै गरौं’ भन्नेमा पुगिसक्नुभएको थियो । तर, त्यसमा भैंसेपाटी गठबन्धनले ‘सभामुख जो भएपनि प्रस्तावक प्रचण्ड नै हुनुपर्छ’ भन्ने उहाँलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिबालय बैठकमा धेरै केही बोल्नु भएन ।

भैंसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डले सभामुखको नाम फ्याट्टै भनिहाले हुन्थ्यो भन्नेमा थिए । तर, केपी ओलीले त्यो मौका दिनुभएन र भन्नुभयो– ‘...अग्नि सापकोटा !’ यसरी अग्निको नाम ओलीको मुुखबाट प्रस्तावित भयो । त्यसमा ‘हुन्छ, हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो । बैठक सकियो । सचिवालयका ९ मध्ये सातजनाको एकमत थियो– ‘शिवमायाको तरिका गलत भयो । कुरा उठ्यो– ‘गलतमात्रै हैन, अति नै भयो ।’

माधवले भन्नुभयो– ‘अहिले उपाय निकाल्नुपर्यो । के गरेर हुन्छ उहाँको राजीनामा गराउनुपर्यो ।’ केपी र ईश्वरले यसबारे केही बोल्नु भएन । यदि निर्देशनविपरित शिवमायाले अन्तिम अवस्थासम्म पनि राजनीनामा दिइनन र पार्टीबाट प्रस्तावित उम्मेद्वारले नोमिनेसन गर्न नपाउने स्थिति आयो भने के गर्ने ? सहमति जुट्यो– ‘अर्को उपाय खोज्ने ।’ अर्थात नेकपासंग अन्तिम र एकमात्र निर्दयी उपाय बाँकी थियो, निर्वाचन आयोगलाई समानुपातिकतर्फ शिवमायाको प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना दिने । यसपछि उपसभामुख पद स्वत समाप्त हुन्थ्यो । त्यसो गर्नु अपमानको पराकाष्ठा हुनेक कारण त्यो बाटो जान नपरोस भन्नेमा नेताहरु थिए । तर, अस्ति सोमबार शिवमायाले विनाआनाकानी उपसभामुखबाट राजिनामा दिइन । अर्को उपायतिर पार्टी लागेन । 

यसपछि संवैधानिक परिषद्को सदस्यसमेत हुने कारण उपसभामुखको महत्व र त्यससम्बन्धी अर्को चर्चा छ । नेकपाले शुरुमै जनमोर्चाकी एकमात्र प्यूठानी सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने निर्णय गरेको हो । तर, मोहनविक्रमसिंह, चित्रबहादुर केसीहरु यस्तो गर्न शुरुदेखि नै तयार भएनन । उनीहरुले एउटा मात्र सांसद, त्यो पनि उपसभामुख बनाएपछि भूमिकाविहीन हुने भन्दै अस्वीकार गरेका छन् । 

सरकारबाट उपेन्द्र यादव, बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी वहिर्गमित भएपछि भोलि हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले अर्को मधेशकेन्द्रित दल राजपासंग गठबन्धन गरेको छ । उपेन्द्र यादवहरु राजपाको भोट चोरेर प्रदेश २ मा कांग्रेससंगको गठबन्धनलाई बलियो बनाउने रणनीतिमा छन् । यदि त्यसो भएन अर्थात राजपाले नेकपासंगको गठबन्धनमा तलमाथि गरेन र पूर्वसहमति मुताविकका उम्मेदवार विहिवार साँझ निर्वाचित भएमा शुक्रबार विहानै राजपाको सिफारिसकी महिला सांसदलाई उपसभामुख बनाउने प्रक्रिया शुरु गरिने भएको छ ।  जनआस्था ।
 

सभामुख माधव प्रचण्ड

विशेष