अब हामी कानुनी लडाइँ लड्छौं : कांग्रेस
काठमाडाैँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कानूनी लडाइ लड्ने बताएकाे छ।
प्रतिनिधिसभाको आजको बैठकमा संवैधानिक निकाय सन्तुलनमा रहनुपर्ने धारणा राख्दै सांसद कांग्रेस सचेतक पुष्पा भुसालले लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिका लागि पार्टीका संस्थापक बीपी कोइरालाले आठवटा राजद्रोहको मुद्दा पनि देशमै आएर संवैधानिक रुपमा लडेको इतिहास स्मरण गर्दै कानुनी लडाइँ लड्ने बताइन् ।
‘संवैधानिक अंगले संविधानवादको विपरीत काम गर्छ भने संसद्ले त्यसको प्रतिवाद गर्नुपर्छ, बालुवाटारको जग्गाको विवरण तयार पारी पठाउनू भनी भौतिक योजना मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको पत्र अहिले पनि छ’, उनले भनिन्, ‘यसको प्रक्रिया अघि बढाउन मुख्यसचिवले उपयुक्त ठानेर प्रस्ताव तयार पारेकामा आदेश दिने र प्रस्ताव तयार पार्नेलाई मुद्दा चलाउनु नपर्ने ?’
यसअघि कांग्रेसले तीनपटक अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक आजदेखि सञ्चालन गर्न दिएको छ ।संवैधानिक निकायले अधिकार क्षेत्रबाहिर गई सरकारबाट प्रभावित भएर मुद्दा दायर गरे फेरि संसद् अवरुद्ध गर्ने जनाउँदै प्रतिनिधिसभाको नियमित कार्यसूचीलाई अगाडि लैजान कांग्रेस सहमत भएको हो ।