अन्तरवार्ता भिडियो Breaking News

कर्णालीले उपयुक्त कालिगढ पाएन

कर्णालीले उपयुक्त कालिगढ पाएन

कर्णालीको मार्सी चामलले समकालीन राजनीतिमा तहल्का मच्चायो । तर कर्णालीका जनताको आर्तनाद उही छ । अभाव, अशिक्षा र गरिबीको चित्कारले छोडेको छैन । नाना, खाना र छानाको पीडा दुखिरहेकै छ । कर्णालीका नाममा राज्यले बेहिसाव खर्च पनि गरिरहेको छ । तर परिणाम हात लाग्यो शून्य छ । सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने सपना देखेको छ । प्रदेश सरकारले १ लाख पर्यटक ल्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । यद्यपि पूर्वाधार विनाको घोषणा स्वयं पर्यटन प्रवद्र्धनमा काम गर्नेहरुका लागि विश्वसनीय बन्न सकेको छैन । 

रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकाय सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैन । भूगोल, स्थानीय परिवेश, सम्भाव्यता नबुझी गरिने निर्णयले पर्यटन क्षेत्र तहसनहस बन्दै गइरहेको बुझाइ उनको छ । उनी भन्छन– ‘विकासमा देखिने जहाँ खोला छैन, त्यहाँ पुल बनाउने विकासको गल्ती अहिले पर्यटन क्षेत्रमा हुबहु सरेको छ । भूगोल, स्थानीयता, पर्यटकको रुचि,  व्यवसायीको लगानीप्रति सरोकारवालाहरु पटक्कै संवेदनशील छैनन् । नगर्नुपर्ने काममा रुचि, गर्नुपर्ने काममा अरुचि बढ्दो छ । पहिला कर्णाली राज्यबाट अपहेलित थियो । मुलुक संघीयतामा गएपछि कर्णाली कर्णालीबासीबाटै ठगिने क्रम शुरु भएको छ । प्रदेश सरकारका नेताहरुको व्यक्तिपिच्छेका एजेण्डा छन् । सिंहदरबार हैन, सिंहहरु पाइला पाइलामा छरिएका छन् । पर्यटनको ‘प’ नबुझेकाहरुलाई नाइके बनाइएको छ । जुन अनुचित हो ।’

">

नेपालको राजनीतिमा राणाहरुको जीवनशैली विलासी मानिन्छ । काठमाडौंमा बस्ने उनीहरु जुम्लाबाट मगाएको कालो मार्सी चामलको भात खान्थे । पर्यटन व्यवसायी रोकायको बुझाइमा कर्णाली प्रदेश सुन हो । तर अनमोल कर्णालीले कहिल्यै उपयुक्त कालिगढ पाएन । त्यसैले कर्णालीबासीले चाहे अनुसारको गहना उपभोग गर्न पाएनन् । ‘पर्यटनमा पनि साहसिक पर्यटन, धार्मिक पर्यटन, होमस्टे, जडिबुटी मात्र हैन उर्जाको प्रचुर सम्भाव्यता छ । यहाँका खोलानालाबाट उर्जा निकाल्ने हो भने कर्णालीबासीले अरुतिर मुख ताक्नै पर्दैन ।’ 

कर्णाली यात्रा चुनौतीपूर्ण त छँदैछ, त्यसमाथि महँगो उत्तिक्कै छ । अझ विदेशी पर्यटकका लागि थप महँगीको भार लादिएको छ । काठमाडौंदेखि नै उनीहरुको हवाई यात्रामा थप पैसा तिर्नुपर्छ । यही अवस्था रहने हो भने पर्यटकको चासो रहेपनि कर्णालीको पर्यटकीय बजार गुल्जार हुन सक्दैन । युवा व्यवसायी देवी भन्छन– ‘आन्तरिक पर्यटकले मात्र यहाँको पर्यटन व्यवसाय फस्टाउन सक्दैन । यातायात, होटल, नयाँ पर्यटकीय गन्तव्यको खोजी, हवाई यातायातको सहज पहुँच अहिलेको आवश्यकता हो । त्यसका लागि कर्णालीबासीबाटै पैसा उठाएर जहाज सञ्चालन गर्नुपर्छ ।’

">

भ्रमण वर्ष २०२० कर्णाली

विशेष