कला साहित्य

ह्याप्पी भ्यालेन्टाइन्स डे, डियर एक्स

ह्याप्पी भ्यालेन्टाइन्स डे, डियर एक्स

हजारौं सूर्यको किरण एकैठाउँमा जम्मा भएजस्तै
तिम्रा विचार, भावना र कल्पनाहरु मसम्म आएर जम्मा हुने गर्थ्यो ।
ठेकी भरी छरिएको दहिलाई जसरी एउटा मदानीले एउटै ढिक्का नौनी बनाईदिन्छ । 
त्यसरी नै, मनको मदानीले तिम्रा छरिएका मायाहरु 
संगालेर राखेकी थिएँ ।

धत् ! म पनि । त्यसैले त तिमी पग्लिएरै सकियौ,
मेरो हत्केलाबाट ।
बगेर गयौ मेरै सामुन्नेबाट । 
अब त, केही बाँकी  रहेन तिमीलाई सम्झना गर्न ।
तर पनि बेलाबेला सपनीले झस्काउँदो रहेछ, तिमी हिंड्ने बाटोसम्म पुगेर ।
आज राति पनि तिमी हिंड्ने बाटोसम्म पुगेर, दोबाटोबाटै फर्किएँ ।
ए, आज त भ्यालेन्टाईन्स डे पो रहेछ ।
ह्याप्पी भ्यालेन्टाईन्स डे मेरो एक्स ।

हाम्रो लक्ष्य एउटै थियो,
दुबैको सपना आकाश छुने नै थियो ।
तर अफसोच, हामी छुट्टाछुट्टै ध्रुबमा टेक्दारहेछौ ।
हामी छुट्टाछुट्टै तरिकाको सोच्दारहेछौ ।
हामी छुट्टाछुट्टै पाइला चाल्दारहेछौ ।
अनि हाम्रो भुगोल अलग रहेछ, 
ब्रमाण्डजस्तै तिमी पनि चलायमान रहेछौ ।
जसरी पृथ्वीले सुर्यको परिक्रमा गर्न दौडिरहन्छ,
त्यसरी नै तिमी पनि दौडिरह्यौ, मैले भेट्टाउनै नसक्ने गरि ।

म स्थिर, बगिरहें, केवल बगिरहें,,
समयको म्याराथनले दौडाइरह्यो । यता उति ठोक्काइरह्यो, बजारिरह्यो ।
 तैपनि,, तिम्रो वेगलाई पछ्याउन छाडेन यो मनले , 
तर अफसोच, त्यहि दौडधुपले घाइते भएको मेरो मन
अहिले बेड रेस्टमा छ ।
यहि घाइते मनको तर्फबाट, 
तिमीलाई प्रेम दिवसको अनगिन्ती शुभकामना ! 
ह्याप्पी भ्यालेन्टाईन्स डे मेरो एक्स ।

अजभोलि दिनहरु फिक्का हाँसोले सुरुवात हुन्छ,
मौनताले अन्त्य हुन्छ ।
रातिमा एक्लै एक्लै चुपचाप तारा गन्ने गर्छु ।
मैले गनेका ताराहरु कति नम्बरमा गएर 
टुङ्गिएका छन्, हेक्का छैन ।
तर बेलाबेला तिमीसम्म पुग्दा गरेका 
गन्तिहरु मलाई राम्रैसंग थाहा छ ।
तिमी धड्किन नसकेको यो मुटु
प्रत्येक ५ मिनेटमा तिम्रा लागि पनि धड्किरहन्छ ।
हो ,य‍ो मुटु प्रत्येक महिना तिम्रा लागि पनि 
८ हजार ६ सय ४० पटकसम्म धड्किंदो रहेछ ।

हो, त्यतिबेला म गणना गरेरै नसकिने खुसी थिएँ,
अहिले पनि त्यति नै खुसी छु।
फरक यत्ति हो, उतिबेला म बर्तमानमा रमाउँथें 
यतिबेला म भुतमा रमाउँछु ।
जाँदा जाँदै एउटा प्रश्नको उत्तर दिन सक्छौ ?
के तिमी पहिला जत्तिकै रमाउन सक्छौ ।
के तिम्रो मन पहिले जस्तै नाच्न सक्छौ ?
के तिमीलाई धड्किएका धड्कनको
गन्तिको महत्व थाहा  छ ?

म त तिम्रो शुभचिन्तक, म तिम्रो फ्यान, 
म तिम्रो बन्न नसकेको सहयात्री ।
तिम्रा यात्रामा कहिल्यै काँडा नआओस,
तिम्रा ओठहरु मुस्कुराउन नछाडुन्
तिम्रा मन नाच्न नछाडोस्,
तिम्रा धड्कन मेरोजस्तै गरि कहिल्यै नधड्कियोस् ।
बस्, यति नै,,
ह्यप्पी भ्यालेन्टाइन्स डे, मेरो एक्स ।

-पार्वती अधिकारी 

#Happy Valentine Day #

विशेष