बालुवाटारमा भोज दिन मिल्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारको दुरुपयोग गरिरहेको कुरो बेलाबेला उठ्ने गरेको छ । प्रधानमन्त्रीको हैसियतमा बाहेक अन्य कुनैपनि हैसियतमा बालुवाटारको प्रयोग गर्नु नैतिक आचरण भित्र पर्दैन । तर, प्रधानमन्त्री ओलीले पटक–पटक पार्टीगत तथा व्यक्तिगत स्वार्थमा प्रधानमन्त्री निवास बालुवाटारको प्रयोग गरिरहेका छन् ।
यसपटक प्रधानमन्त्रीले पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रिभोजका लागि बालुवाटार बोलाएका छन् । के बालुवाटार नेकपाको पार्टी कार्यालय वा कुनै पार्टी प्यालेस हो ? बिल्कुल होइन । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले कहिले ओली समुदायको भेला, कहिले जन्मदिन तथा कहिले पत्रकारलाई शपथ दिलाउन बालुवाटारको प्रयोेग गर्नु शोभनिय कुुरा होइन ।
नैतिक आचरण र नैतिक वन्धन नै आज मुलुकका लागि सर्वाधिक खड्किएको विषय हो । सर्वसाधारणले प्रधानमन्त्रीसहित सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिबाट सदाचार र उच्च नैतिक व्यवहारको अपेक्षा गरेका छन् ।
तर, प्रधानमन्त्री स्वयं नै सार्वजनिक सम्पत्तिको मनलागी प्रयोग गरिरहेका छन् । यसबाट भ्रष्टाचार न्यूनीकरणको उनको अभियान झूठो र देखावटी मात्र हो भन्ने पुष्टि हुन्छ ।