वार्ताको मिति तोक्न कूटनीतिक पहल
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-भारतसम्बन्धी सीमा विवाद समस्या समाधानका लागि वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका छन्। गृहजिल्ला गुल्मीमा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पार्टी एकता सुदृणीकरण तथा जनसम्बन्ध विस्तार अभियान कार्यक्रममको रुरुक्षेत्रबाट उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भारतले एकलौटी रूपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक पहलबाट सीमा समस्या हल गर्ने मिति तत्कालै तोक्ने गरी तयारी भएको बताए।
दुवैदेशको सीमा विवाद समाधान गर्नका लागि भारत तयार भएकाले वार्ताबाट सीमा समस्या समाधान हुने मन्त्री ज्ञवालीले दाबी गरे। सरकारले पठाएको पत्रको जवाफमा भारतले सीमा विवाद वार्ताबाट समाधान गर्न तयार भएका बताएको पनि उनले उल्लेख गरे।
मन्त्री ज्ञवालीले विभिन्न राजनीतिक आडमा वा सत्ताको आडमा जो कोहीले गल्ती गरे पनि नछाडने बताए। सत्ता र शक्तिको जो कोहीले दुरूपयोग गरे कानुनअनुसार कार्वाही हुने र जसले गल्ती गर्छ त्यसको भागेदार आफैँ हुने पनि बताए।
यस्तै, मन्त्री ज्ञवालीले नेपालले अब कहिलै नाकाबन्दी भोग्न नपर्ने बताए। मन्त्री ज्ञवालीले छिमेकी राष्ट्रहरूसँग सम्बन्ध राम्रो भएको भन्दै आगामी पुस्ताले कहिलै नाकाबन्दी भोग्न नपर्ने दाबी गरेका हुन्।