प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत
प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन भएको मतदानमा प्रस्तावित नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ।
प्रदेश २ को प्रदेश सभामा मंगलबार भएको मतदानमा नेकपाद्वारा प्रस्तावित नाम जानकीका पक्षमा जम्मा ३७ मत खसेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।
जम्मा १ सय ७ मतमध्ये ३७ मत मात्र प्राप्त भएकोले जानकी नाम अस्वीकृत भएको हो। सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।
जुन नाममा नामका पक्षमा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने प्रावधान छ।
प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन्। प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन्।