चीनका लागि नेपाली राजदूतमा पाण्डेको नाम अनुमोदन
चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो । समिति सभापति लक्ष्मणलाल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताए ।
गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डेविरुद्ध समितिमा कुनै पनि उजुरी परेन । संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।
प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वयन र समयसीमाभित्र काम सक्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल र चीनबीच निरन्तर उच्चस्तरीय तथा औपचारिक र अनौपचारिक भ्रमणको आदान–प्रदान गराउन प्रयत्न गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । पाण्डेले चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक अवस्थ, प्रवृत्ति तथा परिवर्तनको अध्ययन गरी नेपालमा पर्न सक्ने असर र सम्भावनाको विश्लेषण गरी परराष्ट्र मन्त्रलयमार्फत नेपाल सरकारलाई प्रत्येक महिना प्रतिवेदन पेस गर्ने बताएका छन् ।
समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गर्नेछन् ।