राजनीति

प्रचण्डले सि जिनपिङलाई पठाएको पत्र स्तरहीन

प्रचण्डले सि जिनपिङलाई पठाएको पत्र स्तरहीन

दुई दुई पटक प्रधानमन्त्री भैसकेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई कूटनीति के हो भन्ने अझै ज्ञान नभएको फेरि छताछुल्ल भएको छ ।

दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेको खुलासा भएपछि उनको कूटनीतिको कच्चापनको धोती फेरि फुस्किएको हो ।

सामान्यतः कूटनीतिको शिष्टाचारमा राष्ट्रपतिलाई देशका तर्फबाट पत्र लेख्ने हैसियत र अधिकार राष्ट्रपतिमा रहन्छ । चिनियाँ राष्ट्रपति कार्यकारीसमेत पनि भएकाले नेपालका प्रधानमन्त्रीले पनि यस्तो पत्र लेख्न सक्छन् । तर पुष्पकमल दाहाल एउटा पार्टीका अध्यक्षसम्म हुन् उनले यसरी लेखेको पत्र अनधिकृत रहेको एक कूटनीतिज्ञले बताए ।

दुई दुई पटक प्रधानमन्त्री भैसकेका दाहाललाई प्रोटोकोल थाहा नभएको त पक्कै होइन होला तर उनले यो आफू पपुलिष्ट अर्थात् लोकप्रिय बन्ने लोभमा गरेको ति कूटनीतिक मामलाका जानकारले बताए ।

राष्ट्रप्रमुख वा कार्यकारी तहबाट यस्तो पत्र लेख्दा पनि सिधै लेख्ने नभई परराष्ट्र मन्त्रालयलाई जानकारी दिएर लेख्नुपर्ने कूटनीतिक प्रचलन रहेको हुन्छ, उनले भने ।

दाहालको यस्तै कच्चापनका कारण उनी यसअघि पनि पटक पटक विवादमा आइसकेका छन् । भेनेजुयला प्रकरणमा उनले लेखेको चिठी यसैगरी विवादमा आएको थियो भने अमेरिका भ्रमण ताका पनि उनी विवादमा तानिएका थिए ।

नेकपा अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीलाई लेखेको सोही चिठी यतिबेला सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ ।

आइतबार पूर्वप्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सीलाई एक पत्र लेख्दै कोरोना भाइरस नियन्त्रण गर्न सफल भएकामा बधाई दिएका थिए । उनले कोरोना भाइरसको उपचारमा नेपाललाई सघाउन पनि आग्रह गरेका थिए ।

तर उनले लेखेको पत्रमा भएका कूटनीतिक र भाषागत कमजोरीलाई औल्याउँदै अहिले त्यो पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।

विशेष