संसद् विकास कोष खारेज गरौं : नारायणकाजी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले संसद विकास कोष राख्न आवश्यक नभएको बताएका छन्। कोभिड-१९ को जोखिम र देशको पछिल्लो राजनीतिक अवस्थाबारेमा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य समेत रहेका श्रेष्ठले आफूलाई संसद विकास कोषको विपक्षमा उभ्याएका हुन्।
उनले कोभिड-१९ को जोखिमसँग जुध्नका लागि तत्कालै संसद विकास कोषको रकम रोक्न पनि सरकारसँग अपिल गरेका छन्। 'मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन, मात्र होइन अनुचित छ', उनले भनेका छन्, 'अहिले कोभिड-१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौं। अबदेखि यो शीर्षकमा बजेट नराखौं । यो सही छ,निर्णय गरिहालौं।'
नेता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले उठाउँदै आएको सहमतिको सरकारको प्रसंगलाई बेतुकको संज्ञा दिएका छन्।
उनले सरकारको सारा शक्ति कोभिड-१९ विरुद्ध लागेको बेला मध्यावधि चुनाव र राष्ट्रिय सहमतिको सरकार बेतुकका लज्जास्पद कुरा भनेका छन्। 'यतिबेला मध्यावधि चुनाव वा राष्ट्रिय सहमतिको सरकार बेतुकका लज्जास्पद कुरा हुन्। त्यसको कुनै अर्थ छैन', उनले भने, 'तर कोभिड-१९ माथि विजय प्राप्त गर्न त्यसमा केन्द्रत छलफलप्रति भने आँखा चिम्लनु हुँदैन। पार्टीभित्र वा बाहिरका सकारात्मक छलफलले संकट समाधानमा योगदान गर्नेछ।'