कला साहित्य

   यतिबेला 

   यतिबेला 

यतिबेला 

पशुपतिको बुढो साढेझैँ 

उत्तानो टाङ पल्टाएर 

झोल्लिएको अण्डकोस असरल्लै छोडेर भुइँमा 

मस्तराम घुरिरहेको छ - 

सिहदरबारको सुइखुट्टे स्याल ।

 

यतिबेला 

पशुपतिको रोगी बादरझैँ 

खुइलिन बाकी आफ्नै शरीरका केही रौ 

देखाएर दुनियाँलाई 

मजासङ्ग

कन्याउदै आफ्नो लुते गुप्ताङ्ग

घाम तापिरहेको छ - 

बालुवाटारको  बोक्सी बिरालो ।

 

यतिबेला 

षड्यन्त्रपुर्वक मारिएको 

आफ्नै भुतपुर्व घोषित लोग्नेमानिसको 

अगति परेको अशान्त आत्मा 

काचो वायुको रूपमा 

अचानक भड्किएर दुख दिन थालेपछि 

अधैर्य भई जोखना हेराउदा - हेराउदै 

आफैं हल्लिरहेको छ - रोयल धामीझाक्रीसङ्गै 

श्रीपेचमात्रै लगाउन बाकी रहेको 

शीतल निवासको साईदुवा छेपारो ।

 

यतिबेला 

मलाई मन लागिरहेको छ - 

समृद्धिको दिवास्वप्न राग अलापेर कहिल्यै नथाक्ने

यो शताब्दीकै महाअल्छी 

दीर्घरोगी मान्छेको 

दुइटै जिभ्रो थुतेर मिल्क्याइदिन ।

 

यतिबेला 

न्याय र अन्याय छुट्याएर हेर्ने 

स्वयम्भूको दुवै आँखामा 

बाधिदिएको छ कसैले - गान्धारीपट्टी 

र त आफैसङ्ग लाज मानेर 

मुख छोपेर बसिरहेको छ - वर्तमान समय ।

 

यतिबेला 

इमानजमान र नैतिकतासङ्गै 

बुद्धिविवेक बाकी नरहेको 

तीतो तर सत्य कुरा 

प्रमाणित भएपछि 

 मृत्युले समेत  नपत्याएकै कारण 

ज्युदो लास भएरै

अहिलेसम्म बाचिरहेको - 

यो देशको दीर्घरोगी बुढो शासक 

भएको छ - नीरो 

र आफैंमा निमग्न भएर 

बजाइरहेको छ - अराजक बासुरी ।

 

मिलन समीर , करादीखोला , स्याङ्जा

विशेष