क्याबिनेट सकिनेवित्तिकै पूर्वमाओवादी मन्त्रीहरुलाई प्रचण्डले बोलाए खुमलटार
काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्। पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्। आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए। ‘सबै मन्त्रीहरूलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषदबाट राजीनामा दिने निर्णय हुन सक्छ।’
आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेकाे चर्चा सुरु भएको छ ।
उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन्। मन्त्रिपरिषदमा यो अध्यादेशको तीन जनाबाहेक अरू मन्त्रीले मौन समर्थन जनाएको बालुवाटार निकट स्रोतले बतायो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले भने यस्तो गम्भीर निर्णय अहिलेको समयमा गर्नु ठिक हुन्न कि भनेर सुझाएका थिए। सो अध्यादेश राष्ट्रपति भण्डारीले आजै जारी गर्ने सम्भावना छ।
पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएको थियो। पछिल्ला केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको जिम्मेवारी दिने गरी नेकपामा तयारी भइरहेको गाइँगुइँ सार्वजनिक भएका थिए।