कांग्रेसको समर्थनमा सरकारमा जाने तयारी भएकै हो?
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।
बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो ।
कोरोना भाइरसका कारण देश नै संकटमा परेको बेला ओलीले पार्टी विभाजनको अध्यादेश एकाएक पारित गराएपछि तर्सिएका नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा बोलाएका छन् ।
आफूहरुसँग सल्लाह नै नगरी यस्तो अध्यादेश ल्याएपछि रुष्ट पूर्व माओवादीको तर्फबाट मन्त्रालयमा सहभागी मन्त्रीहरुको आजै सामूहिक राजीनामा आउनसक्ने संभावना समेत रहेको माओवादीस्थित उच्च स्रोतले जानकारी दिएको छ ।
यसैबीच प्रचण्डसँगको बैठकमा एक मन्त्रीले आजै सबैले राजिनामा दिउँ, 'कांग्रेसको समर्थनमा सरकारमा जाउँ' भन्ने प्रस्ताव राखेको पनि उच्च स्रोतको दाबी छ ।