पार्टी एकतामा आघात पुग्नसक्ने काम कसैले नगरौं - माधवकुमार नेपाल
काठमाडौँ । नेकपा नेता माधवकुमार नेपालले पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा कसैले गर्न नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिलेको मूल जिम्मेवारी कोरोना महामारीविरुद्ध लड्नु भएको भन्दै यसबाट ध्यान अन्यत्र मोड्ने काम गर्नु नहुने पनि बताएका छन् ।
सरकारले सोमबार ल्याएका अध्यादेशबारे उल्लेख नगरीकन उनले त्यसमा आफ्नो असन्तुष्टि प्रकट गरेका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन ।’
उनले पार्टीका सबै नेता कार्यकर्तालाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न पनि आव्हान गरेका छन् । उनले हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको पनि बताएका छन् ।
‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविशवासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
कोरोना भाइरस (कोभिड १९)ले विश्वससहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरेको पार्टी र अन्य राजनीतिक दलका नेताको ध्यान पनि महामारीको संक्रमणविरुद्ध लड्ने काममा मात्रै केन्द्रित हुनुपर्नेमा नेपालले जोड दिएका छन् ।
‘यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु,’ नेता नेपालले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।