अस्थिरताको शिलान्यास : यसकारण ल्याइयो अध्यादेश
काठमाडाैं । स्थिरताको अपेक्षा गरेका जनतालाई निराश बनाउँदै नेपालको राजनीतिमा अस्थितरताको शिलान्यास भएको छ । ऐतिहासिक दुईतिहाइ जनमतबाट निर्वाचित सरकारले अहिले संसद्मा रहेको समाजवादी पार्टी फुटाउने योजना मात्र बनाएको छैन, भविष्यमा अरू दल पनि फुट्ने अभ्यासको पुनरावृत्ति गर्दै छ । यसरी कोरोना महामारीविरुद्ध देश एकजुट भएर संघर्ष गर्नुपर्ने वेला सरकार टुटफुटको राजनीतिमा लागेकोमा धेरैले आलोचना गरेका छन् । नयाँपत्रिका दैनिकले समाचार लेखेको छ ।
कुनै दल विभाजन गरेर नयाँ दल दर्ता गर्दा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने कानुन थियो । तर, सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गरेपछि अब केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुगे दल विभाजन गर्न र नयाँ दल दर्ता गर्न मिल्ने भएको छ ।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टी फुटाउने उद्देश्यका साथ सरकारले दल फुट्नेसम्बन्धी कानुन संशोधन अध्यादेश ल्याएको छ । मोहम्मद इस्तियाक राई र रेणु यादवलगायतका नेताहरू अध्यक्ष यादवसँग असन्तुष्ट छन् । उनीहरूले पार्टी फुटाउने गरी सरकारमा हिस्सेदारी खोजेका छन् । प्रधानमन्त्रीले दुई मन्त्री, एक राज्यमन्त्री दिने आश्वासन पनि दिएको उनीहरूले आफ्ना नेताहरूलाई भन्दै आएका छन् । मन्त्रिपरिषद्मा यत्ति नै सिट उपेन्द्र यादवले पाएका थिए । समाजवादीबाट विद्रोह गर्नेले उपसभामुख पदमा पनि दाबी गरेका छन् ।
समाजवादी विभाजन भएमा प्रदेश २ सरकारबाट पनि उपेन्द्र यादवको समूह विस्थापित हुनेछ । त्यहाँको सरकार ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीको योजना छ । त्यस्तै राजपालाई पनि विभाजित गर्न सजिलो हुने बालुवाटारको बुझाइ छ । राजनीतिक रूपमा लामो तयारी गरे पनि कानुनी रूपमा भने यो प्रक्रिया नाटकीय रूपमा सम्पन्न भएको छ ।
त्यस्तै, संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताको समर्थनविना पनि निर्णय हुन सक्ने गरी अध्यादेश ल्याइएको छ । यो कानुनले अख्तियारमा आयुक्त नियुक्ति गर्न सरकारलाई सजिलो हुने भएको छ ।
सोमबार अपराह्न साढे तीन बजे सकिएको मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै दुवै अध्यादेश राष्ट्रपति कार्यालय गएका थिए । मुख्यसचिव र कानुनसचिवले प्रस्ताव पुर्याएको १५ मिनेटमै राष्ट्रपतिले अध्यादेश जारी गरेकी छिन् ।
संसद्को पाँचौँ अधिवेशन सकिएको १४ दिनपछि र नयाँ अधिवेशन सुरु हुनु ठीक अगाडि सरकारले अत्यावश्यक ठानेर अध्यादेश ल्याएको छ । यही केही साताभित्र समाजवादी पार्टी फुटाउने लक्ष्य लिएको छ । केही सातापछि संसद् सुरु भएपछि यो अध्यादेश विधेयकबाट प्रतिस्थापित हुनुपर्नेछ । विधेयक पारित भएमा भविष्यमा अरू दल फुट्ने आधार पनि तयार हुनेछ । त्यो अवस्थामा अहिले समाजवादी र राजपा मात्र होइन, भविष्यमा सत्तारुढ नेकपा स्वयं वा विपक्षी कांग्रेसलाई पनि विभाजित हुने मैदान बन्नेछ ।
राजनीतिक दल विभाजन र नयाँ दल गठनसम्बन्धी विधेयक आउँदैछ भन्ने जानकारी सोमबार मन्त्रिपरिषद् बैठकमा सहभागी अधिकांश मन्त्रीलाई अन्तिमसम्म पनि थिएन । तर, बैठक सकिनै लाग्दा प्रधानमन्त्रीले यो प्रस्ताव ल्याएपछि मन्त्रीहरू मुखामुख गरेका थिए ।
‘यो नेकपासँग जोडिने विषय होइन है’ भन्दै प्रधानमन्त्रीले एजेण्डा प्रवेश गराए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल र ऊर्जामन्त्री वर्षमान पुन त्यसमा आश्वस्त हुन सकेनन् । उनीहरूले जनता अहिले कोरोना महामारीविरुद्ध संघर्षमा रहेको र देश लकडाउनको अवस्थामा रहेका वेला दल विभाजनसम्बन्धी अध्यादेशलाई सरकारले प्राथमिकता दिँदा गलत सन्देश जाने मत राखेका थिए । आवश्यक भए संसद्को आगामी अधिवेशनबाटै कानुन ल्याउन उपयुक्त हुने उनीहरूको सुझाब थियो ।