महामारीका बेला अध्यादेश पारित गरेपछि आफ्नै पार्टी नेतृत्वबिरुद्ध खनिए भिम रावल
काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यो विधेयकलाई अनिष्टकारी भनेका छन् । पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइएको भन्दै रावल आफ्नै नेतृत्वको बिरुद्धमा उभिएका छन् ।
‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले भनेका छन् ।
सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै जारी गरेकी छन् ।
देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनीतिक दलहरुका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानून ल्याइएको थियो ।
त्यस्तैगरी तत्कालिन नेकपा (एमाले) को निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो । यसका विरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको छ ।