राष्ट्रपति भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने कांग्रेसकाे निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ल्याउन नहुने अध्यादेश ल्याएको ठहर गर्दै ती अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय गरेको हो ।
सरकारसँग प्रत्यक्ष संवाद तथा विभिन्न रचनात्मक विरोधका कार्यक्रमबाट अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले भने दुबै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराएर नेपाल राजपत्रमा समेत प्रकाशित गरिसकेको ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलका नेताको सहभागिता बिना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेको छ भने अरु दलले पनि यो अध्यादेशको तीब्र आलोचना गरेका छन् ।
यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजनका लागि खुकुलो व्यवस्था राखिएपछि स्वयं सत्तारुढ दलमा नेताहरुले प्रधानमन्त्रीको कदमको आलोचना गरका छन् ।