राजनीति

ओलीलाई देउवाले भने - 'गल्ती सच्च्याएकोमा धन्यवाद, सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्'

ओलीलाई देउवाले भने - 'गल्ती सच्च्याएकोमा धन्यवाद, सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्'

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर गल्ती सच्च्याएको पनि बताएका छन् ।

उनले समाजवादी पार्टी नेता सुरेन्द्रप्रसाद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकालाई कारवाही गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ , मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देउवाले व्यापक कोरोना परीक्षण अहिलेको आवश्यकता भएको र समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । देउवाले श्रमिकलाई कि खान दिनुस् कि गाउँ जान दिनुस् भनेर प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । देउवाले प्रधानमन्त्री ओलीसँग विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्न आग्रह गरे ।

विशेष