सकियाे ओली–प्रचण्डबीचको वार्ता, सचिवालय बैठक भोलि बोलाउने सहमति
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबीचको बैठक सकिएको छ । आन्तरिक विवाद चलिरहेका बेला ओली-प्रचण्ड मंगलबार एकाएक छलफल जुटेका थिए । २ अध्यक्षबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ ।
यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । तर, दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो ।
नेकपाभित्र प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका र प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई नेताबीच वार्ता बएकाे हाे। यद्यपि सोमबार ओली र नेपाल समूहका नेताहरुको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो। तर ओली-प्रचण्ड मंगलबारको बैठकमा बुधबार बैठक बोलाउन सहमत भएका हुन् ।
नेकपाका दाहाल र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यस अघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन्। तर, पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलन र शक्ति बाँडफाँडलाई लिएर देखिएका विवादले ओली समूह स्थायी कमिटीको बैठक बोलाउन तयार भएको थिएन।
स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामको समीक्षासहित नेतृत्व हेरफेरको मुद्दा उठान हुने गरि नेकपाभित्र राजनीतिक घटनाक्रम विकसित हुँदै आएका छन्। यसले नेकपाको आगामी बैठक पेचिलो हुने सम्भावना छ। वैशाख ८ मा जारी भएका दुई अध्यादेशपछि नेकपा विवाद नयाँ मोडमा आएको थियो। यद्यपि विवादपछि दुवै अध्यादेश फिर्ता भइसकेका छन्।