आन्तरिक विवाद उत्सर्गमा पुगेका बेला ओली-प्रचण्डबीच बालुवाटारमा वार्ता सुरू, कुन-कुन विषयमा हुँदैछ छलफल ?
काठमाडौँ । पार्टी भित्र आन्तरिक विवाद उत्सर्गमा पुगेकै बेला प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरी वार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच दिउँसो १ बजेपछि भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले बताएको छ।
नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका र प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई नेताबीच भएको वार्तालाई चासोका साथ हेरिएको छ। यद्यपि सोमबार ओली र नेपाल समूहका नेताहरुको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो। तर, मंगलबार दिउँसोसम्म बैठक अनिश्चित छ। ओली दाहाल बैठकपछि सचिवालयको बैठक बस्ने सम्भावना छ।
नेकपाका दाहाल र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यस अघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन्। तर, पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलन र शक्ति बाँडफाँडलाई लिएर देखिएका विवादले ओली समूह स्थायी कमिटीको बैठक बोलाउन अझै तयार भएको छैन।