सचिवालय बैठकमै प्रधानमन्त्री ओलीलाई झट्का, गौतमले मागे राजिनामा
काठमाडौँ । अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् ।
प्रधानमन्त्री ओलीले भने आफ्नो राजीनामाको काउन्टर प्रस्तावका रूपमा वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । गौतमले यसअघि संविधान संशोधनमार्फत राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गरेका थिए । त्यसबेला केही व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा जायज नहुने निष्कर्षमा नेकपा पुगेको थियो । दुर्गा खनाल र बिनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।
तर बुधबार प्रधानमन्त्री ओलीले नै गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरे । स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावलाई उपाध्यक्ष गौतमले चलाखीपूर्वक जवाफ दिएका छन् । ‘प्रधानमन्त्रीले यो कुरा असल मनसायले ल्याउनुभएको हो भने ठीक छ तर पहिले तपाईं राजीनामा गर्नुहोस्, अनि को, कसरी प्रधानमन्त्री बन्छ भन्ने पार्टी कमिटीले निर्णय गर्छ,’ गौतमले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई पनि अध्यक्ष बनाउने गरी तीन जना अध्यक्षको अवधारणा राखेका थिए । जबकि दाहाल र नेपाल पक्षले ओलीसँग एक व्यक्ति एक पद हुनुपर्ने माग गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवै चलाउन नसकेको निष्कर्ष लिएर पुगेका दाहाल र नेपाललाई प्रधानमन्त्री ओलीले थप अर्को अध्यक्षसमेत रहने खालको प्रस्ताव गरेपछि बुधबारको बैठक कुनै निष्कर्षमा पुगेन । वरिष्ठ नेता नेपालले आफूलाई तेस्रो अध्यक्ष होइन, ओलीलाई उल्टै प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्न आग्रह गरे ।
झन्डै चार दिनयता आ–आफ्नो समूहमा छलफलपछि शक्ति सञ्चय गरी बुधबार बसेको सचिवालय बैठकको सुरुमै प्रधानमन्त्री ओलीले ‘तपाईंहरू बोल्नुहोस्, मेरो कुरा केही छैन’ भन्दै बैठकको सुरुवात गरे । स्रोतका अनुसार त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल बोले । दाहालले आफ्नो कुरा बैठकमा राखिएको कुर्सीको पोजिसनबाट सुरु गरे । बैठकमा अध्यक्ष ओलीको कुर्सी छुट्टै र अरूको एउटा लहरमा राखिएको थियो । यसअघि बैठकमा पूर्ण अध्यक्षता गर्न नपाएको लगायतका प्रसंगबाट कुरा झिक्दै दाहालले अध्यक्ष भए पनि आफूलाई पटक–पटक अपमान गरिएको भन्दै ओलीप्रति आक्रोश व्यक्त गरे । ‘तपाईंले पार्टी एकताको स्पिरिट मार्दै जानुभएको छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यादेश पनि तपाईंले पार्टीलाई नै ध्यान दिएर ल्याउनुभएको हो । त्यसैले अब तपाईंले राजीनामा दिनु उपयुक्त हुन्छ ।’
दाहालले राजीनामाको प्रस्ताव गरेपछि ओलीले दाहालको कुरा टुंगिन दिएनन् । ‘अब म बोल्छु’ भन्दै आफ्नो धारणा राख्न सुरु गरे । उनले सुरुमै अध्यक्ष दाहालले लगाएका ‘आरोप खारेज गर्छु’ भने । त्यसपछि अगाडि बढ्दै उनले आफूलाई यस्तो बेलामा पनि काम गर्न नदिइएको गुनासो गरे । मुलुक कोरोनाविरुद्धको लडाइँमा रहेको उल्लेख गर्दै यो बेला पार्टीभित्रबाट असहयोग भएको ओलीको धारणा थियो । त्यसपछि उनले वामदेव गौतमको प्रसंग अघि सार्दै उनले ‘प्रधानमन्त्रीका लागि किन हामी मात्रै ? वामदेव कमरेड पनि हुनुहुन्छ । उहाँलाई कोरोनाको संकटपछि प्रधानमन्त्री बनाऔं, राष्ट्रिय सभामा लैजाऔं’ भन्ने प्रस्ताव गरेका थिए । उनले संविधान संशोधनमार्फत राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने वा प्रतिनिधिसभाको कुनै स्थान खाली गर्न सकिने खालको कुरा गरेका थिए । त्यससँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव गरे । पार्टी विधानमा दुई जना अध्यक्षको व्यवस्था भए पनि त्यसलाई संशोधन गरेर तेस्रो अध्यक्षसमेत बनाउन सकिने ओलीको धारणा थियो ।
ओलीले गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेपछि वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए । खनालले ओलीलाई ‘यस्ता नक्कली कुरा नगर्नुहोस्’ भनेको स्रोतले बताए । पार्टीले भन्छ भने राजीनामा दिन तयार हुनुपर्छ भन्दै उनले पनि ओलीको राजीनामाको प्रसंग उठाए । असन्तुष्ट नेताहरूले स्थायी कमिटी बैठक माग गरिरहेकाले जतिसक्दो छिटो त्यो बैठक बोलायो, त्यति राम्रो हुने उनको धारणा थियो । त्यसपछि अर्का वरिष्ठ नेता माधव नेपाल बोलेका थिए । उनले ओली अहिले पनि अहंकारी देखिएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै छोड्न आग्रह गरे । उनले पार्टीभित्र ओलीको लोकप्रियता घट्दै गएकाले आफ्नो हैसियत बुझ्न भनेका थिए । ‘तपाईंको पपुलारिटी घटेको छ, तपार्इं अहंकारी हुनुभएको छ, अहिले पनि अहंकार देखिन्छ, तपाईंले पार्टी र सरकार दुवैको नेतृत्व छोड्नुपर्छ, त्यसम्बन्धी निर्णय स्थायी कमिटी बैठक बोलाएर गर्नुपर्छ,’ उनको भनाइ थियो ।
त्यसपछि उपाध्यक्ष वामदेव गौतम बोलेका थिए । उनले आफूलाई प्रधानमन्त्रीका लागि गरेको अफरभित्रको मनसाय के हो भन्ने बुझ्न खोजेका थिए । उनले पहिले ओलीले राजीनामा दिनुपर्ने, त्यसपछि प्रधानमन्त्री को, कसरी बन्छ भन्ने स्पष्ट हुने धारणा राखेका थिए । आफूलाई प्रधानमन्त्री बनाउने हो भने यही बैठकबाट निर्णय गर्न उनले चुनौती दिएको स्रोतले बतायो ।
बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेका सबै विवाद स्थायी कमिटीबाट टुंगो लगाउनुपर्ने भन्दै बैठक माग गरेका थिए । उनले पार्टीलाई विधिपद्धतिअनुसार हिँडाउनुपर्ने धारणा राखेका थिए ।
गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले भने प्रधानमन्त्रीको राजीनामाको कुरा गलत भएको भन्दै प्रतिवाद गरेका थिए । उनले अहिले राजीनामा गर्ने कुरा ठीक नभएको बताए । उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले भने प्रधानमन्त्री ओलीले राखेका धारणा र प्रस्तावलाई आफूले समर्थन गर्ने बताएका थिए । महासचिव विष्णु पौडेलले पनि माधव नेपाललाई तेस्रो अध्यक्ष र वामदेवलाई प्रधानमन्त्री बनाउने कुरा समस्या समाधानउन्मुख हुने खालको रहेको भन्दै ओलीको समर्थन गरे । झन्डै साढे तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेताहरूबीच गरमागरम बहस भएपछि आउँदो २० गते बस्ने गरी बैठक स्थगित भएको थियो । त्यही बैठकबाट स्थायी कमिटी बोलाउनेलगायत अहिले देखिएका समस्या समाधानका विषयमा प्रस्तावहरू समेत आउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।