राजनीति

अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग

अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग

काठमाडौं । भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा तत्काल सेना पठाएर नेपाली भूमिको रक्षा गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल उपस्थित सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन् ।

सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे । ‘अतिक्रमण गरिएको क्षेत्रमा सीमा सुरक्षाका लागि सेना पठाइहाल्नुपर्छ । विगतका क-कसले के–के गल्ति गरे त्यसको पनि खोजविन हुनुपर्छ,’ उनले भने, “अहिलेको सरकार र विगतका सरकारका बीचमा दोषारोपण गर्ने भन्दा समस्या समाधान गर्नु नै उपयुक्त हुन्छ ।’

अर्का सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता गर्न माग गरिन् । बैठकमा बोल्दै सांसद भीम रावलले विगतमा अरूले गरेनन् भनेर आजको दायित्वबाट सरकारलाई पन्छिने छुट नभएको भन्दै तत्काल विज्ञ टोली सीमा क्षेत्रमा पठाउन माग गरे ।

उनले सीमा विवादबारे राज्यका निर्देशक समितिले कति पटक निर्देशन दियो कति पटक कार्यान्वयन भयो ? भन्दै प्रश्न गरे । भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु दुई देशको असल छिमेकीको सम्बन्ध विपरित र अन्तर्राष्ट्रिय कानून विपरित रहेको भन्दै रावलले आपत्ति प्रकट गरे ।

उनले दार्चुलाको सबैभन्दा धेरै जमिन अतिक्रमण भएको बताउँदै नेपाली सीमानामा भारतले ४५ हजार सुरक्षाकर्मी परिचालन गरेको उल्लेख गरे । उनले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन पर्ने तथा नेपालको नक्सा प्रकाशन गर्नु पर्ने बताए ।

विशेष