राजनीति

सांसदलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक

सांसदलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक

काठमाडौँ । संसद् चलिरहेका बेला विभिन्न जिल्लामा कोरोना भाइरसबाट संक्रमण बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर संघीय संसद्का सबै सांसदलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक लगाइएको छ । संसद् सचिवालयका अनुसार आआफ्नो पार्टीका संसदीय दलले मंगलबार सांसदहरूलाई उक्त सूचना प्रवाह गरेका छन् ।

संसद् बैठक सञ्चालन हुनुअघि सचिवालयले सबै सांसदको पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण गराएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय विशेषत: भारतीय सीमा जोडिएका जिल्लाहरूमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सांसदहरूलाई काठमाडौं बाहिर नजान सूचित गरिएको हो ।

सचिवालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रपति कार्यालयका ३७ जना र उपराष्ट्रपति कार्यालयका ६४ जनाको परीक्षण गरिएको छ । उपराष्ट्रपति पुन र उनको कार्यालयका कर्मचारीहरूको भने मंगलबार स्वाबको नमुना लिएकाले रिपोर्ट आउन बाँकी छ ।

अरू सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढ्ने सूची संसद् सचिवालयले तयार गरेको छ । उक्त दिन कोभिड–१९ परीक्षण गरेर नेगेटिभ देखिएको प्रमाणपत्रका आधारमा मात्र संसद् भवन प्रवेश गर्न पाइनेछ ।

विशेष