राजनीति

लकडाउनमा श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउ, अलपत्र परेकालाई घर पुर्‍याउ - प्रचण्ड

लकडाउनमा श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउ, अलपत्र परेकालाई घर पुर्‍याउ - प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गरेका छन् ।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु । 'देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य हामी सबैको हो । कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।' शुभकामना सन्देशमा भनिएको छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

विशेष