नेकपाको स्थायी समिति वैठक फेरी स्थगित
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को आज बस्ने गरी बोलाइएको स्थायी समितिको वैठक स्थगित भएको छ। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिए। उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको श्रेष्ठले बताए ।
यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति नभएपछि बैठक स्थगीत गरिएको थियो ।
सरकारले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । विवाद बढेपछि अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।