लकडाउन थप्ने सरकारको तयारी, मोडालिटी परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय
काठमाडाैं । सरकारले जेठ ५ गतेपछि पनि लकडाउन थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।
समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । यस्तै समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।