राजनीति

मदन-आश्रित हत्या छानबीनका लागि स्थायी समितिमा माधब नेपालको प्रस्ताव ! ३ बर्ष अघि गरेको बाचा कहिले हुन्छ पुरा ?

मदन-आश्रित हत्या छानबीनका लागि स्थायी समितिमा माधब नेपालको प्रस्ताव ! ३ बर्ष अघि गरेको बाचा कहिले हुन्छ पुरा ?

काठमाडाैं । सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ठ नेता माधव कुमार नेपालले ३ बर्षअघि मदन-आश्रित हत्या छानबीनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने बाचा गरे ।  मदनआश्रित स्मृति दिवसमा नेपालले ३ बर्षअघि एउटा टेलीभिजन अन्तर्वार्ता  क्रममा गरेकाे उक्त बाचा आजका दिनसम्म आइपुग्दा केवल बाचामै सिमित बनेको छ ।

अहिले कोरोना जोखिमका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिथी बैठक बस्न सकेको छैन तर मदनआश्रित स्मृति दिवसमा भने शनिबार उनको सम्झना गरियो । २७ वर्षअघि मदन भण्डारी र जीवराज आश्रित सवार जिप दुर्घटनामा भएको मृत्युको थियो । 

उक्त घटना कुनै दुर्घटना नभइ हत्या भएको दावी सबैले गर्दै आएका छन् तर घटनाको जरासम्म पुग्ने कोसिस गरिएको छैन । घटनापछि तत्कालिन एमाले पटक-पटक सरकारमा गयो, मदन भण्डारी पत्नी बिद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति भइन तर उक्त घटनाको छानविनका उनले अहिलेसम्म कुनै चासो दिएकी छैनन् ।

एमाले-माओवादी एकीकरणपछि आज जेठ ३ गते फेरी दोस्रोपटक मदनआश्रित स्मृति दिवस आएको छ, नेकपाका मुख्य नेतृत्वकर्ताहरुले व्यक्तव्यमार्फत यो घटनाको गहिराइसम्म पुग्ने प्रतिवद्धता दोहोर्याएका छन् । उक्त पार्टीका तल्ललेयरका नेता कार्यकर्ताले पनि सामाजिक सञ्जालमा मदन भण्डारी र जीवराज आश्रितको तस्विर पोस्ट्याउदै श्रद्धाञ्जली दिनुकाे विकल्प भेट्टाएका छैनन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २७ वर्षअघि मदन भण्डारी र जीवराज आश्रित सवार जिप दुर्घटनामा भएको मृत्युको गहिरो अनुसन्धान गर्ने बताएका छन् । २७ औं मदनआश्रित स्मृति दिवस तथा नेकपा गठनको दोस्रो वर्ष पुगेको सन्दर्भमा अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा उक्त घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लाग्ने बताएका हुन् ।

अध्यक्षद्वय ओली–दाहालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यी दुई लोकप्रिय नेताको रहस्यमय दासढुंगा जिप दुर्घटनामा दु:खद निधन भएको आज २७ वर्ष बितेकोे छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली–दाहालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘२७ औ ‌मदनआश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुन: व्यक्त गर्दछ ।’

मदन-आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने संकल्प समेत अध्यक्षद्वयले गरेका छन् । कोरोना महामारीले निम्त्याएको स्वास्थ्य संकटसँगै यसपछि आउने आर्थिक मन्दीले सिर्जना गर्ने संकट निकै जोखिमपूर्ण हुने पनि ओली–दाहालको वक्तव्यमा छ ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । यस्तै, २५ औं मदन आश्रित स्मृति दिवस पारेर ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएको थियो ।  उक्त घटना छानविनका लागि किन तत्कालिन एमाले अर्थात् अहिलेको सत्तारुढ नेकपा तत्पर छैन ? यो प्रश्न प्रश्नमै सिमित बनेको छ । के यसपटक बस्ने पार्टी स्थायी कमिटि बैठकमा के नेपालले मदन-आश्रित हत्या छानबीनका लागि प्रस्ताव लग्लान ? त्यो भने हेर्न बाँकी छ ।

विशेष