राजनीति

संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन

संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गरेका छन् । उनले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ जनाको वीरगञ्जमा उपचार भइरहेको छ । सो अवसरमा उनले पर्साको समग्र वस्तुस्थितिबारे जानकारी लिनुका साथै सरकारले गर्नुपर्ने कामका विषयमा सरोकारवालासँग सल्लाह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए।

प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गरेका थिए ।

सरकारले सबै जिल्लामा थप क्वारेन्टाइन स्थापनाका लागि गरेको निर्णयको कार्यान्वयनको सम्भावित स्थलको पहिचान गर्नुपर्ने विषयमा जोड दिँदै उनले राजनीतिक दल र सरोकारवालासँग समन्वय तथा सहकार्यका लागि निर्देशन दिए ।

विशेष