राजनीति

संसदमा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीलाई एक्कासी गाह्रो भएपछि...

संसदमा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीलाई एक्कासी गाह्रो भएपछि...

काठमाडौँ । मंगलवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सम्बोधन गरिरहेका बेला एक्कासि गाह्रो भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन ओली संसदलाई सम्बोधन गरिरहेका छन् ।

तर एक्कासी बोल्न गाह्रो भएपछि उनी अलमलमा परे । लगत्तै उनले उठेर बोल्न गाह्रो भएको संकेत गरेपछि संसद सचिवालयका कर्मचारीले उभिएर बोल्दा समस्या देखिएकाले बसेर बोल्ने ब्यबस्था गरेका छन् ।

'सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,' ओलीले भनेका थिए, 'स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।' प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए । रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

बोल्ने क्रममा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र २ जनाको निधन भएको छ ।'

कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, 'कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबबाट भएको मान्नुपर्ने हुन्छ ।'

मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीको दाबी छ । उनले त्यसका लागि गरिरहेका कामबारे पनि संसदलाई जानकारी गराएका छन् । 'बढी परीक्षण गर्ने, भरपर्दो ढंगले परीक्षण गर्ने । क्वारेन्टाइन भरपर्दो गर्ने र आइसोलेसन व्यवस्थित गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेमा सरकारको ध्यान गएको छ,' ओलीले भने ।

विशेष