राजनीति

सचिवालय बैठकमा ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

सचिवालय बैठकमा ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।

शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए । सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।

विशेष