लकडाउन फेरि लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस, मन्त्रिपरिषद्ले भाेली निर्णय गर्ने
काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । केहिसमय अगाडि मात्रै सकिएको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो ।
बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए ।
'लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,' बैठकपछि सचिव बिडारीले भने । नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल सचिव बिडारीले बताए ।
मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उनको भनाइ छ ।