राजनीति

भाेलीकाे बैठकका लागि माधव नेपाल समूहका २० स्थायी कमिटी सदस्यहरुले बनाए यस्तो रणनीति

भाेलीकाे बैठकका लागि माधव नेपाल समूहका २० स्थायी कमिटी सदस्यहरुले बनाए यस्तो रणनीति

काठमाडौँ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आसन्न बैठकमा एक ढिक्का भएर प्रस्तुत हुने रणनीति बनाएका छन् । बबिता शर्माले कनातिपुर दैनिकमा समाचार लेखकी छिन ।

दुई विवादित अध्यादेश प्रकरणपछि अध्यक्षद्वयलाई पत्र लेखेर बैठक राख्न माग गर्ने दाहाल र नेपाल समूहका २० सदस्यहरुको मंगलबार भएको भेलाले बिहीबार बस्ने स्थायी कमिटी बैठकमा एकढिक्का भएर प्रस्तुत हुने रणनीति बनाएका हुन् । आफूहरुले पत्र लेखेर बोलाएको बैठक भएकाले खुलेर सबै विषयमा छलफल हुनुपर्ने अडानमा आफूहरु रहेको भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए ।

उनका अनुसार सरकारले गरेको विवादित कामबारे उठेका मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कैयौ प्रश्नको जवाफ खोज्ने रणनीति पनि तय भएको छ । भेलामा पार्टी नेतृत्वले ल्याउने एजेन्डामा आफूहरुले पत्रमा लेखेका विषय नउठाए बैठकमै थप्ने रणनीति बनाएको छ । अध्यादेश फिर्ता भए पनि कसको र के कारणले ल्याइएको हो भन्ने छलफल हुनुपर्ने उनीहरुको माग छ ।

‘आसन्न स्थायी कमिटी बैठकमा प्रभाकारी ढंगले कसरी प्रस्तुत हुन सकिन्छ भनेर हाम्रो छलफल भएको थियो । किनकि हामीहरुले नै पत्र लेखेर बैठक माग गरेको हुँदा आ–आफ्ना मुद्दाहरु जोडदार ढंगले राख्ने रणनीति बनाएका छौं,’ नेता गजुरेलले भने, ‘मुख्यत: कोरोना विरुद्धको लडाइँलाई कसरी प्रभावकारी बनाउने र सरकारको तयारी के छ ? भन्ने एउटा । अर्को, यस्तोबेला दुई अध्यादेश किन जारी भए ? के उद्देश्यले आएका थिए ? त्यसमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ । यी एजेण्डा बैठकमा आएनन् भने हामी आफैं राख्ने र छलफल गराउने सहमति भएको छ ।’

बैठक माग गर्दै पत्र लेख्दा उनीहरुले राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजनको खतरा औंल्याएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्पको खाँचो रहेको भन्दै उनीहरुले बैठक माग गरेका थिए ।

‘विषम र चुनौतिपूर्ण परिस्थितिमा हाम्रो पार्टीका घोषित सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम, विधि र पद्धतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी एकतालाई बलियो बनाउन तथा कोराना विषाणुको संक्रमणबाट आफू बाँच्न र जनतालाई बचाउन यथाशक्य योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई आह्वान गर्नुपर्ने आवश्यकता छ । यसका साथै पार्टीको एकता र सशक्त भूमिकाका लागि पार्टी पंक्तिलाई आश्वस्त तुल्याउन हार्दिक आग्रह गर्दछौं,’ बैठक बोलाउन माग गर्दै उनीहरुले पत्रमा लेखेका थिए ।

विशेष