कोरोनाले रेमिट्यान्सदेखि रोजगारीसम्म असर गुम्यो, नेपाल पनि अप्ठेरो अवस्थामा पुग्यो - देउवा
काठमाडाै। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाले अर्थतन्त्रलगायत क्षेत्रमा असर पुर्याएको बताएका छन्। कांग्रेस संसदीय दलले बुधबार पार्टी केन्द्रीय कार्यालयमा अर्थतन्त्रमा सरोकार राख्नेहरूसँग गरेको छलफलमा देउवाले कोरोनाले गर्दा रेमिट्यान्सदेखि रोजगारी गुमाउनेसम्मका असर देखिएको बताए।
‘विदेशमा रहेका नेपाली कामदारले रोजगारी गुमाएका छन्। कतिपय देशले कामदार नेपाल फर्काइदिने भनिरहेका छन्,’ देउवाले भने, ‘यहाँ पर्यटक ठप्प छ। उद्योग, व्यापार कहिलेसम्म बन्द रहने टुंगो छैन।’ कोरोनाले विश्वका अरू देशजस्तै नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको देउवाले बताए।
‘विदेशबाट कामदार फर्केपछि समस्या बढ्ने देखिन्छ। भारतबाट पनि मानिसहरू नेपाल आउने क्रम छ,’ उनले भने, ‘रेमिट्यान्स अत्यन्तै कम हुने देखिन्छ। यसले हाम्रो बजेटमा पनि असर पार्छ।’ उद्योगी, व्यवसायीले बैंकको व्याजदर घटाउन माग गरेको भन्दै देउवाले यसबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेर कुराकानी गर्ने पनि बताए।
‘व्याजदर घटाउन सरकारलाई दवाव दिन्छौं,’ उनले भने, ‘सदनमा पनि कुरा उठाउँछौं।’ भौतिक पूर्वाधारका काम ठप्प, आन्तरिक तथा बाह्य पर्यटक आवागमन ठप्प र बेरोजगारी समस्याले नेपाललाई थप अप्ठेरोमा पार्ने उनले बताए।