के सत्तारुढ नेकपा फुट्न लागेकै हो ? पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लगातार गरे यस्ता तीन ट्वीट
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा २ अध्यादेश ल्याएपछि सतहमा आएको उक्त पार्टीभित्रको आन्तरिक कलहले यतिबेला नेपाली राजनीति तातेको छ ।
राजनीतिक दल विभाजन र संवैधानिक परिषदमा विपक्षीको प्रतिनिधित्व आवश्यक नपर्ने संसोधनसहितका दुई अध्यादेश ल्याएपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचना भएपछि ३ दिनमै ओलीले फिर्ता गरे र राष्ट्रपति विद्या भण्डारीले दुवै अध्यादेश खारेज गरिन । अध्यादेश खारेज भए पनि नेकपाभित्रको आन्तरिक विवादमा भने अध्यादेशले नै घिउ थपेको छ ।
यतिबेला प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डबीच आन्तरिक द्वन्द उत्कर्षमा छ । त्यसको पछिल्लो उदाहरण हो बुधबारको सचिवालय बैठक । बुधबार अपरान्ह वालुवाटारमा बसेको सचिवालय बैठक छोडेर ओली एकाएक बाहिए, जसकारण उक्त बैठक बिना कुनै निष्कर्ष सकियो भने बिहिबारका लागि बोलाइएको पार्टी स्थायी समिति बैठक पनि स्थगित भयो ।
अब पार्टीका २ अध्यक्षले छलफल गरेर फेरी स्थायी समित बैठकको नयाँ मिति तय गर्ने बताइएको छ । स्थायी समिति बैठक स्थगित भएपछि नेकपाका नेताहरुका बिभिन्न धारणाहरु बाहिर आइरहेका छन् । विधिबार मात्रै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्समा पुगेको संकेत गरेका छन् । स्थायी कमिटी अनिश्चतकालका लागि स्थगित भएको भोलिपल्ट बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेको रहेछ भन्ने सन्देश दिएका छन् ।
‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।’उनले पहिलो ट्विटमा भने । यससँगै उनको अर्को ट्विट पनि आयो, 'अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ-आफ्नो ठाँउबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं।’
यसबाहेक उनको अर्को ट्वीटमा भनिएको छ, ‘समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन। यो त शोषित-श्रमजीवी वर्ग र अन्ततः सिंगै मानवजातिको मुक्तिको परियोजना हो । सत्ता उक्त उद्देश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने?’
बुधबार बसेको सचविालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका एजेन्डामा सरकारको समीक्षा र संगठनात्मक बाँडफाँटको विषय नपारेपछि बिहीबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित छ । यसपछि नेकपाभित्रको विवद नयाँ तरिकाले मुखरित भएको छ ।
यसअघि बैशाख २० को सचिवालयको निर्णय कार्यन्वयनमा आलाटल भएको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार पनि यस्तै अर्थपूर्ण दुई ट्वीट गरेका थिए । मंगलबार बिहान उनको ट्वीट थियो, ‘अस्तिको सचिवालयको निष्कर्षबाट बिचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ । अत:अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, विधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मूख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प- यो हो निश्कर्ष।’
जबकि त्यसैदिन राति उनले अर्को ट्वीटमा लेखेका थिए,‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’

